-सन्ध्या आचार्य
मलाई साँझ मतलब सन्ध्याकालीन समय पटक्कै मन पर्दैन। म सोझै उसैलाई हेरेर भनिदिन्छु।
उ अर्थात् निमी। मेरो सामनेको अर्को चौकीमा बसेकी छ, जुन चौकी मलाई खूब मन परिरहन्छ, कलर कम्बिनेशन पनि क्या खूब पहिल्यैबाट मलाई लाग्थ्यो। तर, हिज मात्रै थाह पाएँ चौकी निमीबिना फिका रहेछ।
चौकी त्यत्तिबेला प्रिय लाग्नेरहेछ जतिबेला उ अथवा मनपरेको मान्छे बसिदिन्छन् त्यस ठाउँमा।
साँझ किन मन नपरेको तिम्लाई? उ सोध्छे।
किन? उसको प्रश्न फेरि।
दिन र रातलाई फरक्कै छुट्याइदिने के।भनिरहेँ।
प्रायः मान्छेहरू जोड़्ने र जोड़िने समय, थोक र स्थिति मन पराउँछन्, जुन केवल मानवकेन्द्रित होस्। हामी मान्छे साँच्चिकै स्वार्थी भएका छौं के विवेक। हामी मान्छे र मान्छेकै परिस्थिति र स्थितिहरूलाई मात्रै निर्क्यौल गरिरहन्छौं र निहार्दा निहार्दै यो बिर्सन्छौं कि साँझको शुरुआत पनि बिहानीबाटै हुन्छ। बिहानीपखको चराको चिरबिराहट, शीतका टलक्क टल्किने थोपाहरू, गिर्जाघरको घण्टी र भजनसँगै भएर मध्य दिनको घाम हुँदै बनेको हो साँझ।
र साँझ छुट्नै लागेका थोकहरूका लागि अप्रिय भए तापनि कसै न कसैका लागि प्रिय छ। उ लगातार बोल्दैछे यो बेला। म सुनिरहेछु, उसलाई सुन्नु र सुनिरहनु मेरो चाहना। सायद आजन्म म सुनिरहन सक्छु, उसलाई यसरी नै। मलाई लाग्छ। एउटा कुरा सम्झ न। उसैले थपेकी यो पनि। चारो खोज्न गएका भाले ढुकुर साँझ परेन यदि भने कसरी फर्केला?
दिनैभरि हावा फर फर हल्लिनुको बाध्यता बोकेर उभिएको लुङ्दर कहिले बिसाउला?
बिहानको तुसारो र दिनैभरिको प्रखर घामले ढल्नै लागेको बूढ़ो धुप्पी कहिले बिसाउला?
साँझ खसिदिन्छ र नै त अँध्यारो खस्दैगर्दा बूढ़ा धुप्पीहरू भोलिको दिन फेरि ठिङ्ग उभिनलाई आँट बटुल्छन् र फेरि भोलि शिर ठाडो गरेर उभिन्छन्।
यसैर अरूले जे भनून् मेरो लागि प्रिय छ, यो बेला यो समय।
अरू पनि भन न। म भन्छु।
छैन! मुसुक्कै हाँसेकी छे उ अहिले।
साँझबेला तिमीबाट साँझकै कुरा सुन्नु आह! म भनिदिन्छु र यो मैले मनैबाट भनेको हुँ पनि सम्झिरहन्छु मलाई यस्तै कुराको लोभ लागिरहन्छ। सायद कथाको मोह यसैलाई भनिँदो हो।
तर यी कुराहरू क्षणिक हुन् मलाई थाह छ।
क्षणिक कुराहरू किन यत्तिका प्रिय लाग्छ्न हँ निमी? म सोधी पठाउँछु।
जस्तो कि? उ सोध्छे।
साँझ। म बङ्ग्याएर उत्तर दिन्छु यो बेला।
अब मन पर्न थाल्यो तिमीलाई? उसले सोधेकी छे।
पहिल्यैबाट! दोहोरो उत्तर मेरो।
हेर्नू त्याँ। उ भन्छे। अघि मनपर्दैन भनेर।
वास्तवमा मैले भन्न चाहेको कुरो अर्कै हो भन्ने कुरा उसले बुझोस् म चाहन्थेँ।
अनि हिजाज के गर्दैछौ? भेट्नै गाह्रो भैसक्यो नि। म भन्छु
ए सुन न म आजबाट उपन्यास लेख्दैछु नि! म अब हरेक साँझ व्यस्त हुन्छु होला। उसको उत्तरमा मेरो मुखबाट वाउ निस्किएको थियो।
उ व्यस्त हुने भई, कताकता मन पिरोलिएको पनि छ।
उसलाई भेट्नु ,भेट्न चाहनु, उसलाई सुन्नु, सुन्न चाहनु सब किन? म आफैलाई प्रश्न गरिरहन्छु।
एउटा बेनाम सम्बन्ध बनिएको छ हामीबीच।
नलागेको कहाँ हो र कि! यो सम्बन्धलाई कुनै नामकरण गरिदिऊँ! तर अहँ सकिएन या चाहिन मैले अहिलेसम्म बुझ्न सकेको छैन मैले।
त्यसपछि साँझ आयो र दिन पनि सँगै रात पनि तर, त्यस्तै त्यस्तै साँझ कहिल्यै आएन जीवनमा।
आम्मामा मध्यरातमा किताब हेरेरै हुरुक्कै हुँदैछ त हौ मान्छेहरू त! बहिनीले कटाक्ष गर्दै थिई मतिर हेर्दै यत्तिबेला। रातिको एघार बज्नै लागेको छ म सुत्नअघि उसैको किताब हातमा लिएर समर्पणको हरफ पढ्दैथिएँ।
‘माया गरिदिनेहरूलाई’ लेखिएकोमा म आफ्नो नाम घुसाउँदै थिएँ यसबेला।
उत्तापट्टि अर्को कोठामा हप्तैपछि डायोलाइसिस गरिरहन पर्ने बाबा ख्वाक ख्वाक खोक्दैछन्।
ओइ भोमिटिङ हुन्छ होला बाबालाई दबाई दे ल! म भन्छु र उसैलाई सम्झन्छु Demporodine दिनु नि उसैले सिकाएकी थिई।
म फर्किए ल! आज धेरै दिनपछि उसैले खबर गरेकी थिई फोनमार्फत्।
सुनेर कत्ति खुशी थिए म।
भोलि भेटौं ल। प्रस्ताव मेरो।
कहाँ?
सधैँको ठाउँ। म भन्दिन्छु।
ए म र मेरो साथी आउँछौं ल। उसैले थपेकी।
नाइँ एक्लै आउ भन्नै सकिनँ।
साँझ त्यही बेञ्च र म पर्खाइ उसैको।
परिवर्तित उ। दुब्ली पातली नमज्जाको रोगी न रोगी।
के भयौ हँ तिमी? म सोध्छु
बिरामी छु म। एकचोटि सोध्नसम्म जरूरी लागेन है तिमीलाई? उ भन्दै थिई।
तर तिमीलाई सम्झिरहेँ। म भन्दैछु सफायजस्तै गरी।
सम्झिनु मात्रै काफी होइन विवेक! सोधखोज गर्नु पनि जरुरी हो। मलाई सहाराको जरुरत थियो सम्झनाको होइन। भन्दैगर्दा उसको साथी हातमा कुन्नि के के फलफूल बोकेर उभिएको पाएँ।
उसैको सहारा र साथले मात्रै म बाँचेको हो विवेक। परिचय यसरी दिई।
म उसलाई हेरिरहन बाहेक केही भन्नै नसकिरहेको स्थितिमा रहेछु अहिले।
तपाईंको कुरा खुब गर्थी निमी। तपाईलाई भेट्दा खुशी लाग्यो।
हात मिलाउँदै थियो यसबेला उ।
अव्यक्त प्रेम पनि सायद निमी बुझ्थी उसबेला। म सम्झिरहेँ। तर निमी कत्ति संयमित थिई, असंयमित र अनियन्त्रित कोही थियो भने त्यो म नै थिएँ तर निमीको संयमले मलाई कायल गराइदिन्थ्यो। वयस्क र सम्मानित प्रेमिल सम्बन्धको उदाहरण नै थिई उ।
विवाह गरौं। मनबाट ओठ हुँदै फुत्किएको वाक्य मबाट।
म एचआईभी सङ्क्रमित हुँ। हिम्मत बटुलेर उसले भनी।
मैले शरीरसँग प्रेम गरेको हैन। भावुक भएर भनिदिएपछि छुटिएका हौं।
त्यसपछि नै म आफ्नो मोबाइल नम्बर नयाँ लिएर, फेसबुक आईडी डिएक्टिभ गरेर बसेको छु।
एक मनले आफैलाई धिकार्दा धिकार्दै पनि उसका कुराहरूलाई लिने सकारात्मकताले कता कता ढाड़स दिइरहन्छ मलाई।
तर, मनमा एउटै प्रश्न बारम्बार दोहोरिन्छ: मान्छे शरीर चाहन्छ कि मन?