युवराज सुन्दासको चिन्तन र लेखन संसारबाट चिहाउँदा

0
1547

-जय क्याक्टस

‘युवराज सुन्दास’ यो नाम मेरो निम्ति अपरिचित पटक्क होइन। सुधी र जानकार पाठक त झनै यो नामदेखि अनभिज्ञ रहने त कुरै भएन। तर दैनिक र अन्य पत्र-पत्रिकाको पृष्ठ र एकाध सांस्कृतिक-साङ्गीतिक मञ्चमा उद्घोषणा सुनेकोबाहेक मसित प्रत्यक्ष भेटघाटको सुयोग राम्ररी नजुरेको नै रहेछ। तर झर्झराउँदो कथाकार/गजलगो भाइ सञ्जीव छेत्रीको सौजन्यले उनै सचेत पत्रकार, जाति तथा समाज सरोकारका एक उम्दा चिन्तक तथा सबैले मानेका एक सफल उद्घोषक युवराज सुन्दासलाई अझ नजिकबाट चिहाउने सुयोग मिलेको छ यो पुस्तकको भूमिका लेखन कार्यले। तर बढ़ो जटिल कार्य सुम्पेका छन् भाइ सञ्जीवले।

फोनवार्तामा लेखक महोदयले पनि बड़ो विनम्रता र आग्रहसाथ अनुरोध थपेका छन्। कथा-कविताजस्ता सिर्जनात्मक कृतिको भूमिका लेख्नुको औचित्य र अर्थ अर्कै हुन्छ तर प्रबन्धीय लेख-सङ्ग्रहको भूमिका लेखनको सार्थकता के कति होला? आफैलाई धेरैपटक प्रश्न गरेको छु। सिर्जनात्मक लेखनलाई झैं केही पूर्वाधार वा सङ्केतको घड़ेरी तयार गरिरहनु उति आवश्यक देखिन्न यस्ता गद्यलेखनको फाँटमा। भन्नुपर्ने थोकहरू कृतिका लेखादिले नै सोझै र सपाट अर्थमा स्पष्ट पारिसकेका हुन्छन्। त्यसैले ‘भूमिका’-को सही अर्थ यहाँ निर्वाह नहोला। मेरो जटिलताबोध यतैकतै छ।

पत्रकारिता र साहित्यको फ्युजन लेख

मसम्म पुस्तकको जुन काँचो-कचिलो सफ्टकपी आइपुग्यो त्यसको पठन-चिन्तनले पुस्तक पद्मश्री केदार गुरुङ नामाङ्कृत ‘सब्बन्ध’ प्रकृतिको बुझिन्छ। निबन्ध-प्रबन्ध सम्मिलित लेखादि सङ्ग्रह रूपको। तर, पुस्तकको जुन संरचना, भाषा र विषय चयन छ त्यो सामान्यभन्दा केही पृथक छ। पत्रकारी साहित्य रूपको। फिचर लेखन शैलीको। कवि/पत्रकार विमल राईको भाषामा भन्नु हो भने ‘ऱ्यान्डम राइटिङ’। साहित्यिक मानकमा आफ्नो स्थान खोज्दै शुरूमा निक्कै विवादित बन्न पुगेको  लेखन यो अहिले बड़ो लोकप्रिय बन्नपुगेको छ। सांस्कृतिक अध्ययन (Cultural Studies) -अन्तर्गतका थुप्रै अवयवमध्येका लोकार्षक साहित्य (Popular Literature) -सित घनिष्टता राख्ने यो नयाँ लेखनको नेपालमा त एउटा आँधी नै आएको देखिन्छ।

यता, भारतीय नेपाली साहित्यमा अघि फाटाकफुटुक लेखिए तापनि विमल राईको सिङ्गो कृति ‘फुटेका वाक्केहरू’-पछि प्रभात पाठक, मनोज बोगटी, राजा पुनियानी, अनिल तेलैजा, मिलन वान्तवा, सविता ‘सङ्कल्प’, मनोज ‘एकलकाँटे’ डी. के. वाइबा, प्रताप राई, रूपेश शर्मा, अजय खड्का, छुदेन कविमोजस्ता युवापुस्ताले यसलाई थप मलजल गरिरहेका छन्। महेन्द्र पी. लामा, पी. अर्जुन, बी. योञ्जन, जी.बी. बल, विनोद योञ्जन, हिरा छेत्री, मनप्रसाद सुब्बा, मणि राई ‘धुन’, साङ्गे डुक्पा, विचन्द्र, अरुणकुमार रसाइली, जनम राई ‘कमाने’, जय ‘क्याक्टस’, कमल रेग्मी आदिले पनि बेला-बेला यो दिशामा कार्य गर्दै होस्टे थप्ने काम गरिरहेका छन्।

एक समय डा. हर्कबहादुर छेत्री, सी.के. श्रेष्ठ, मिङ लिवाङ, मनप्रसन्न योञ्जन, शमसेर अलीहरू निक्कै सक्रिय पाएका हौं। खीर पकाएझैं मिश्रित (Hybrid) लेखन रूपमा यो तर रोचक, खोजपरक र सूचनाप्रद बनाउन लेखकको विशेष विलक्षणताको आवश्यक पर्दछ। त्यसैले जो कोहीले आँटिहाल्ने सहज विधा पटक्क होइन यो। युवराज सुन्दासको लेखकीय उपस्थिति दह्रो हाँचमा छ। हाम्रो निम्ति सुखद कुरो छ यो।

गहिरिएर हेरिए यो लेखन नवइतिहासवादको आधार पनि हो यो। वर्तमानलाई नयाँ दृष्टिले हेरिने प्रकार्य। यो अनि त्यो कोणबाट हेर्दा के-कस्तो देखिएला? को नवीन पथानुसन्धान पनि। किनकि यस्ता लेखनलाई The textuality of history, the historicity of text  भनेर अमेरिकी समीक्षक लुइस मन्टरोज भन्छन्। साहित्यइतरको विषय जस्तो तर साहित्यलेखनकै घड़ेरीमा उभिएको देखिने समकालीन चिन्तन र दिशाबोध लिएको। यो कृतिमा सर्जक युवराज त्यति पर पुगिहालेका छैनन् तर उनले पाठकलाई त्यतातिर दोहोऱ्याउनलाई बाटोमा चिह्न स्तम्भ गाड्ने काम भने सफलतापूर्वक गरेका छन् भनी किटान गर्न सकिन्छ।

प्रस्तुत कृतिमा हामी विषय वैविध्यका लेख-रचनाहरू ‘साहित्य’, ‘सानो रेल’, ‘चियाबारी’, ‘पत्रकारिता’, ‘शिक्षा’, ‘व्यक्ति-कृति’, ‘हास्य-व्यङ्ग्य’, ‘राजनीति’, ‘धार्मिक\ऐतिहासिकस्थल’ र ‘विविध’ गरी दश खण्डमा विभाजित पाउँछौं। यसले हामी पाठकलाई आ-आफ्नै रुचिका विषय अध्ययन गर्न सहज र सुगम बनाएको छ। यी लेखहरूका अध्ययनमा तर पाठकले समय सचेतता खुबै होशियारीसित अप्नाउनुपर्ने हुन्छ; किनकि अधिकतर प्रबन्धहरू विविध समय र कालखण्डसित सम्बन्धित छन् जसलाई आजको सन्दर्भसित दाँज्दा केही ‘आउट-डेटेड’ जस्ता देखिन्छन्। तर तमाम् तथ्यपरक यी समाचारीय लेखहरू हाम्रा साहित्यिक, सामाजिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक दस्तावेजको रूपमा संरक्षित बनी बाँच्न अनिवार्य रहेकोले कृतिको सङ्ग्रहनीयता अक्षुण्ण रहेको छ। रचनासित संलग्न मिति र साल-सम्वतले (कतै कतै छुटेको छ) तात्कालिकता दिइएकै कारण पाठकले सायद ती लेखादिलाई उही समय-सान्दर्भिकतासित पछ्याउनेछन् भन्ने विश्वास गर्दछु।

कृतिको पृष्ठभूमिमा ठूलो ठाउँ ओगटेर बसेको छ ‘तीनधारे’। लेखक जन्मेको, हुर्केको, पढ़ेको र आफ्नो कर्मथलोको रूपमा जीवनमा अविच्छिन्न अङ्ग जस्तो बनी टाँसिएको आफ्नो ठाउँ अनि यससित संलग्न भूभागबारे कृतिमा परिचय छ, खोज-खबर छ, सन्धान छ र छ केही विमर्श। विमर्शमा उठेका छन् केही गम्भीर प्रश्न, चिन्ता र चिन्तन पनि। चाहे त्यो साहित्यगत होस् या चियाबारी, सानो रेलको कुरा होस् या व्यक्ति-कृतिको कुरा तीनधारेनै छ त्यहाँ परिलक्षित। जस्तैः-

विश्वकवि रवीन्द्रनाथ ठाकुरको दार्जीलिङ पहाड़सितको सम्बन्धमा जोड़िएर आउने भूभाग मङ्पूबारे धेरै चर्चा-परिचर्चा पढ्न पाएका छौं। ठीक उसै गरी कविगुरुको सम्बन्ध तीनधारेसित कहिले र कसरी जोड़िएको छ? खोजपरक साहित्याध्ययन गरिएको छ कृतिको पहिलो लेख ‘रवीन्द्रनाथ ठाकुरको गीताञ्जली अनि तीनधारेको सम्बन्धः एक खोज’मा। माननीय कविवर विचन्द्रको अनुवाद, श्रद्धेय मातृका गजमेर अनि आदरणीय बालकृष्ण शर्माको सहयोगमा लेखकले निक्कै उपयोगी लेख हामी पाठकलाई प्रदान गरेका छन्। साहित्य खण्डमा संलग्न अरू तीन रचना लघुकथा रूपका छन्। साङ्केतिक अर्थ बोक्ने आख्यानात्मक रचनाले सर्जक युवराज सुन्दासको सिर्जनात्मक प्रतिभाको नमूना प्रस्तुत गरेको छ।

‘सानो रेल’ खण्डमा दार्जीलिङ पहाड़को धरोहरको रूपमा परिचित सानो रेलबारे केही तथ्यात्मक घोत्ल्याईंहरू पस्केका छन्। विश्व धरोहरको दर्जा पाएर पनि सङ्कटापन्न अवस्थामा पुगेको दार्जीलिङको सानो रेलको मुख्यालय तीनधारे हुनु, सम्बन्धित विभागको उदासीन नीतिले रेलवे कारखाना निष्क्रिय बन्नु अनि वर्तमानमा त्यही तीनधारेनजीक पैह्रो जानु आदिले सानो रेलको भविष्य चिन्ताजनक बनिएको तथ्य यहाँ सविस्तार उल्लेख छ। तात्कालीन राजनैतिक परिदृष्यमा सत्तासीन नेताहरू पनि कसरी यो धरोहरप्रति फोस्रो आश्वासनको पोको बोकेर धाएका थिए त्यसको बेली विस्तार पनि यहाँ छ। आजसम्म यो समस्या पूरणरूपले निवारण नहुनु यसको अर्को विडम्बना छ। एकजना पत्रकारको हैसियतमा उनले सानो रेलबारे जुन तथ्य र इतिहास खोतल्दै समस्या अघि ल्याएका छन्, त्योभन्दा माथि उनले क्षेत्रका सचेत नागारिकको भूमिका निर्वाह गर्दै समाज, सरकार र सरोकारवाला सबैलाई झक्झकाउँदै ध्यान आकर्षण गर्ने जुन कार्य लेखेर गरेका छन्, त्यो साँच्चै सराहनीय छ।

त्यसैगरी ‘चियाबारी’ खण्डमा श्रमिकहरूले बर्खामासमा झेल्नुपर्ने विविध समस्या र पीड़ा, धिमा रोजवृद्धि, बोनस चुक्तिमा शोषण, आधारभूत मौलिक अधिकारको हनन, अधिक मुनाफा र लकआउटको अगणतान्त्रिक प्रक्रियाबीच मजदुरको पिसाइ आदि समस्याहरू उठान गर्दै केही समाचारीय, केही जानकारीमूलक तथा केही सुझाउपरक लेखहरू समाहित पाउँछौं। यहाँ हाम्रो बँचाइको यथार्थ मात्र होइन, तर जातिकै जीवन परिक्रमाको चित्र खिँचिएको पाउँछौं। चियाबारी समस्यासित जोड़िएका धेरै लेख हेरिरहेका हामीलाई निक्कै उपयोगी र सूचनाप्रद लेखहरू छन् यहाँ। ‘चियाकमानहरू बन्द हुनु र खोलिनुको नाटक कहिले समाप्त हुने?’ जस्ता प्रश्न आज पनि उत्तिकै सान्दर्भिक र समयानुकूल रहेको कुरो नकार्न सकिन्न। लेखकीय चिन्ता यसैले इतिहासदेखि वर्तमानसम्मै छ।

कृतिमा ‘पत्रकारिता’ खण्डमा जातीय स्वाभिमानमा बाँचेका दुई दैनिकी ‘सुनचरी’ र ‘सुनाखरी’ कालीन घटनालाई केन्द्र गरी प्रेस स्वतन्त्रता, सूचनाको अधिकार संवाददाताहरूका दायित्व र समस्या आदिबारे विमर्श गर्दै पत्रकारिताको प्रकृति र दायित्व बुझाउने काम दुई लेखले रोचकतापूर्वक गरेको छ भने ‘शिक्षा’ खण्डमा दार्जीलिङको शैक्षिक गुणस्तर घट्नुमा जिम्मेवार को? भन्दै यहाँको शैक्षिक इतिहास र वर्तमानको तुलनात्मक अध्ययनसहित ‘ती जिम्मेवार’-हरू पहिल्याउने प्रयास गरेका छन्। पूर्ण रूपले पाठक लेखकका विचारसित सहमत नभएपनि दायित्वशील सचेतवर्गलाई यस दिशामा चिन्तन गर्न\गराउन लेखक सफल छन्। पहाड़को गरिमामय शैक्षिक प्रशिक्षण महाविद्यालय श्री रामकृष्ण बी.टी. कलेजको वर्तमान प्रगति र विकास दर्शाउने अर्को लेख उल्लेखनीय छ। यस महाविद्यालयको स्वर्णिम यात्राको अवलोकन गर्दै वर्तमान प्राचार्य डा. सुरेन्द्र पी. श्रेष्ठको योगदानलाई समायोचित चोखो मूल्याङ्कन यस लेखले गरेको छ।

‘व्यक्ति-कृति’ खण्डमा तीनधारेकै सम्माननीय स्व. पी. एस. दान सरको सम्झना र उनका कर्महरूका मूल्याङ्कन गरिएको छ भने आफ्नो आदर्श गुरुको रूपमा साहित्यकार हस्त नेचालीको जीवन यात्रा, सङ्घर्ष, साहित्यिक योगदान तथा विचारहरूलाई लेखनको अवयव बनाउँदै गुरुभक्ति प्रस्तुत गरेका छन् लेखक सुन्दासले। त्यसपछि साहित्यिक विधागत कम फस्टिएको ‘हास्य-व्यङ्ग्य’ खण्डमा लेखकले चारवटा निबन्ध पस्केका छन्। नीजि अनुभव र अनुभुति समेटिएको आत्मपरक यी निबन्ध निक्कै रोचक छन्। हाम्रो सामाजिक, शैक्षिक, आर्थिक यथार्थलाई केलाउने यी संरचनामा व्यङ्ग्यको अधिकता धेर नभएपनि प्रखरता निक्कै चर्को देखिन्छ। यसमा तीनधारेको बाँदरसँग डिसकस व्यङ्ग्यले गतिलो झटारो हिर्काएको छ।

‘राजनीति’ खण्डमा हामी किन राजनीति गर्छौं? लेखमा राजनीतिको आदर्श उत्खनन गर्ने प्रयास गर्दै लेखकले स्थानीय राजनीतिलाई कठघरामा उभ्याइ कस्तो राजनीतिले जातिको अस्मिता र अभिमान बाँच्नसक्छ? सम्भावनाहरू देखाइदिएका छन। डा. हर्कबहादुर छेत्री र सोबरको चर्चा, छैटौं अनुसूचीको तात्कालीन क्लाइम्याक्स, ८६ को आन्दोलन र मानसिंह राईको कथा सबै समय उधिन्ने विगत सङ्घटना-विवृत्ति मात्र हुन्। एक पठनमा त्यसको उपलब्धि सकिन्छ। अरू समाचारीय लेख पनि उस्तै मान्न सकिन्छ।

‘धार्मिक\ऐतिहासिक स्थल’ खण्डमा हामी तीनधारे नजीककै ‘शिवखोलाको सेरोफेरो’, ‘शिवखोलाको ऐतिहासिक शिवमन्दिर एक जानकारी’ लगायत ‘पवित्र स्थलः जलपादेवी मन्दिर’-बारे केही ऐतिहासिक तथ्य र धार्मिक आस्थाबारे रोचक जानकारी पाउँछौं। धार्मिक पर्यटनको रूपमा विकास गरिलानसक्ने यस्ता क्षेत्रीय निधिहरूका संरक्षण र संवर्द्धनमा के-कस्ता पाइला चाल्न सकिएला भन्ने सम्भावनाको ढोका खोल्ने यस्ता लेखहरूका उपयोगिता अलग्गै छ। कविगुरु रवीन्द्रनाथ ठाकुरसित सम्बन्धित ऐतिहासिक धरोहर ‘सन्त भवन’-को महत्त्व र मर्यादा केलाउँदै र यस भवनबाट विगतमा भएका सेवमूलक कार्यहरूबारे जानकारी दिँदै लेखकले पहिलो लेखमा उल्लेखित ‘सन्त-भवन’-बारे अलग्गै रोचक तथ्यहरू पस्केका छन्।

अन्तमा ‘विविध’ खण्डभित्र ‘पलायनवादको चपेटामा तीनधारे एक प्रतिवेदन’ र यस्तै शीर्षकमा अर्को लेखमा लेखकले तीनधारेको इतिहास र वर्तमानलाई दाँज्ने काम गरेका छन्। साहित्य, सङ्गीत, कला, खेलकुद, शिक्षा आदि विविध क्षेत्रमा तीनधारेका नामलाई उच्च पर्ने प्रतिभा र हस्तीहरूका नाम स्मरण गर्दै तीनधारेको महिमा प्रकाशमा ल्याएका छन। तुलनात्मक दृष्टिले हेर्दा तीनधारे दार्जीलिङ पहाड़का अन्य स्थानभन्दा धेरै अघि देखिन्छ। डाक्टरलाई जाती पार्ने झाँक्री शरण प्रधानको कथा साँच्चै रोचक छ।

अर्को लेख ‘एउटी चेलीलाई नर्कमा पुग्नदेखि बचाउन सकेँ’ लेखले नारी तस्करीको फन्दामा पस्न अघि नै पतिको अत्याचारबाट दिक्क बनी घरबार छोड़ेर हिँडेकी  एक अबला नारीलाई एनजेपीबाट फर्काउन सक्षम बनेको मीठो प्रयासको कथा छ। ‘जीवन सङ्घर्ष सहजीकरण\मोबाइमय’ र ‘मोबाइल फोन+प्रेम-प्रणय=वेश्यालय’-ले वर्तमान मोबाइल उपयोगकर्ताहरूले यसको सकारात्मक उपादेयतासितै देखिएका गलत र हानिकारक सङ्घटनाहरूबारे सचेत गराएका छन्। त्यस्तै यात्रा गर्दा अपरिचितले दिएको खानेकुरा खाँदा आइपर्ने सङ्कट र दुर्घटनाबारे अवगत गराउँदै लेखकले ‘अपरिचितले दिएको कुरा पटक्क नखाने’ सुझाउ र सल्लाह दिएका छन्। कृतिको अन्तिम लेख समाचार सङ्कलन क्रममा रित्तो सुटकेशले दिएको बम आतङ्क र यसले उत्पन्न गरेको नाटकीय स्थितिबारेको झलक पस्केका छन्।

यी तमाम लेख-रचनामा लेखकको भाषिक गति सरल र सरस छ। सम्प्रेष्य भाव र विचार भाषाले सलग्ग पाठकको मन-मस्तिष्कमा पुऱ्याउन सक्षम छ। यद्यपि कतैकतै भाषिक विचलन देख्न पाइन्छ, जसलाई तर नगण्य मान्न सकिन्छ। साहित्यिक अनुरागको आधिक्य लेखकमा प्रष्ट झल्किन्छ। उदाहरणमा आएका कविताका पङ्क्ति र भनाइहरूले लेखमा रोचकता थपेको छ। प्रकाशित सबै समेटेर पुस्तकमा हाल्ने लेखकको लोभले कृतिको मोटाइ अनुरूपको गहनता नभेटिएला। तर, साहित्यमा यो अआख्यानात्मक विधाका कृतिहरूमा यो कृति अवश्य पठनीय र सङ्ग्रहणीय मान्न सकिन्छ।

कहिले सिर्जनामा, कहिले पत्रकारितामा, कहिले उद्घोषणामा त कहिले सामाजिक चिन्तनामा व्यस्त रहने उर्जाशील सर्जक युवराज सुन्दासको यो कृति पाठकप्रिय बनोस्। बौद्धिक विमर्शको सूत्रधार बनोस्। शुभकामना।

(रोङ्गो)

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here