दार्जीलिङ, ५ जुलाईः विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले आगामी केही दिनपछि पूर्वोत्तर क्षेत्रका असम, मेघालय, अरुणाचल र मणिपुरमा पार्टीका शाखा समितिहरू खोल्ने अनि आगामी दिनमा हुने सबै चुनाउमा भाग लिने घोषणा गऱ्यो।
एनपीपी (नेशनल पिपल्स पार्टी)-का अध्यक्ष कर्नार्ड साङ्माले आज इम्फालबाट उत्तर बङ्गालमा पनि एनपीपीको शाखा समिति गठन गरिएको घोषणा गरेपछि नै गोजमुमो अध्यक्ष विनय तामाङले पनि आफ्नो पार्टीलाई पूर्वोत्तरमा विस्तार गर्ने घोषणा गरेका हुन्।
उनले भने, “एनपीपीलाई राष्ट्रिय पार्टीको आशीर्वाद प्राप्त छ भन्ने छनक पाइएको छ, यसैले त्यसै राष्ट्रिय पार्टीले नै आउँदो २०२१-को विधानसभा चुनाउका लागि एनपीपीलाई उत्तर बङ्गालमा ल्याएको हो। ताकि उत्तर बङ्गालका गोर्खा, आदिवासी, राजवंशी अनि अन्य अल्पसङ्ख्यक समुदायको भोट हत्याउन सकोस्।
उनले एनपीपीलाई भारतीय जनता पार्टीकै ‘बी टीम’ हो भन्ने बताउँदै भने, “दार्जीलिङले भाजपालाई दार्जीलिङ संसदीय आसनबाट सांसद दिएको १५ वर्ष भइसक्यो, यसरी नै उत्तर बङ्गालका धेरै जनताले भाजपामाथि आस्था राखेर नै भोट दिइरहेका छन्। तर, यसको सट्टा भाजपा नेतृत्वावधीन केन्द्र सरकारले उत्तर बङ्गालका लागि अहिलेसम्म केही दिएको छैन। यसैले अर्को वर्ष २०२१-मा बङ्गाल विधानसभाको चुनाउको समय यहाँका जनताको भोट हत्याउन कुनै उपाय नदेख्दा नै भाजपाले एनपीपीलाई यस क्षेत्रका जनताको भोट हत्याउन यहाँ ल्याएको हो।’’
उनले थप भने, “गणतन्त्रमा कसैले पनि, कहीं पनि पार्टी खोल्न सक्छ, तर एनपीपीले उत्तर बङ्गालमा शाखा खोल्नुमा केवल भाजपाको हात छ। यसैकारण गोर्खा जनमुक्ति मोर्चा पनि खुलेर पूर्वोत्तरमा एनपीपीको विरोधमा मैदानमा ओर्लिनेछ।’’
यसका लागि आगामी केही समयपछि पूर्वोत्तर क्षेत्रमा राजनीतिक भ्रमण गर्ने तयारी गरिरहेको पनि उनले बताए।
उल्लेखनीय छ, २०१२ -तिर शरद पवार नेतृत्वावधीन एनसीपी (नेशनल कंग्रेस पार्टी) दुई भागमा विभाजन भएको थियो। जसअनुसार, एनसीपी शरद पवारकै हातमा रहेको थियो भने पूर्व लोकसभा अध्यक्ष पी.ए. साङ्माले एनपीपीको गठन गरेका थिए। जसको निधन भएपछि यस पार्टीको नेतृत्व उनकै जेठा छोरा कर्नार्ड साङ्माले गरिरहेका छन्। जसले आज इम्फालबाट उत्तर बङ्गालमा पनि एनपीपीको शाखा समिति गठन गरिएको घोषणा गरेका छन्।