गान्तोक, 17 मार्चः दुई दिनअघि ६ जनाको उम्मेद्वारिता घोषणा गरेको हाम्रो सिक्किम पार्टी (एचएसपी) -ले आइतबार थप चारजनाको नाम सार्वजनिक गरेको छ।
आज पार्टी कार्यालयमा एचएसपीका अध्यक्ष डा. वीणा बस्नेत, कार्यकारी अध्यक्ष भाइचुङ भोटिया र प्रवक्ता विराज अधिकारीको उपस्थितिमा थप चार उम्मेदवारको नाम घोषणा गरिएको हो।
दक्षिण सिक्किमको पोकलोक-कामराङबाट बीबी दुङ्गाली, पश्चिम सिक्किमको सालघाली जुमबाट पलमान कामी, पूर्व सिक्किमका मार्तम-रूम्तेकबाट निमा लेप्चा र खाम्दोङ-सिङ्तामबाट नीरज अधिकारीलाई एचएसपीले उम्मेदवार बनाएको छ। उम्मेदवारहरूमा पहिलो तीनजना सामाजिक कार्यकर्ता र अर्का उम्मेद्वार विश्वविद्यालयका शोधार्थी हुन्।
सबै उम्मेदवारलाई पार्टी अध्यक्ष डा. वीणा बस्नेतले खादा लगाएर बधाई दिइन् भने भाइचुङ भोटियाले पार्टीको चिन्ह सिटी प्रदान गरे।
पत्रकारहरूबीच छोटो सम्बोधन राख्दै चारैजना उम्मेदवारले एचएसपीको नीति, कार्यक्रम र घोषणा-पत्र मनपराएर राजनीतिमार्फत राज्यका जनताको सेवा गर्न अघि आएको मन्तव्य गरे। एचएसपीका कार्यकारी अध्यक्ष भाइचुङ भोटियाले संक्षिप्त सम्बोधन राख्दै चुनाउ जितेर आगामी पाँच वर्षमा सिक्किमलाई सबैभन्दा खुशहाल राज्य बनाउने दाबी गरे।
“हामी एसडीएफ र एसकेएमले जस्तो जनतालाई झण्डाको राजनीति गर्न लाउँदैनौं। युवाहरूलाई हामी पार्टीको झण्डा बोक्ने होइन, तर उनीहरूलाई आत्मनिर्भर बनाउने काम गर्नेछौं। राज्यका युवाहरू आत्महत्या गरिरहेका छन्, कुलतमा फँसेका छन्। युवाहरूलाई हामी सचेत र स्वालम्बी बनाउन चाहन्छौं”, भाइचुङले भने।
एचएसपीका कार्यकारी अध्यक्षले भने, “एसकेएमको जस्तो परिवर्तन सिक्किमका युवाहरूले चाहेका छैनन्। एचएसपीको सरकार आएपछि 23 मईपछि हामी झण्डाको राजनीति बन्द गरिदिनेछौं अनि एसडीएफ र एसकेएमका सबै झण्डा उखेलेर फ्याकिदिनेछु।”
यस अवसरमा हाम्रो सिक्किम पार्टीले ‘नयाँ सिक्किम हाम्रो सिक्किम’ नारा दिएर एउटा मिनी घोषणा-पत्र पनि जारी गरेको छ।
समग्र घोषणा-पत्र केही दिनभित्रै जारी गर्ने एचएसपीले जनाए तापनि छुट्टाछुट्टै मिनी घोषणा-पत्रमार्फत समाजका हरेक तहका मानिसहरूसमक्ष उनीहरूका रुचि र आवश्यकताको क्षेत्रलाई समेट्न मिनी घोषणा-पत्र बनाइएको बुझिएको छ। आज जारी गरिएको घोषणा-पत्र मूलतः युवाकेन्द्रित रहेको छ।